Pokhiyara Gham ko Jhulka

शब्द - हरिभक्त कटुवाल
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ
एल्बम - प्रेयसीका यादहरु

पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति आँखाहरु बाटो छेक्न आँउछन,
परेलीमा बास माग्न कति आँखा धाँउछन
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो,
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है।

Yeti Dheri Maya Diyi

शब्द, संगीत - दीपक जंगम
स्वर - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु

यति धेरै माया दिई मनभरि दुख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शीरमा नलाऊ

जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन्
केही तिता पल केही मिठा पल सबै सबै स्वीकार छन्
ती हातहरु प्रसस्त छन् भो सान्त्वना मलाई नदेऊ

यो बाटोमा कति काँडा कति फूल टिपी हिंडे
कति पराई आफ्ना देखें कति आफ्ना पराई भेटें
यो जिन्दगीको मोडमा भो साहरा मलाई नदेऊ

Aankha Chopi Narou Bhani

शब्द - कालीप्रसाद रिजाल
स्वर, संगीत - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु

आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुलचिएर आफैलाई हिड्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ